अफगानिस्तानका राष्ट्रपति घानी युएईमा,१६.९ करोड डलर लिएर भागेको आरोप आधारहिन भएको गनीको दाबी
तालिबानले देश कब्जा गरेपछि भागेर युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका अफगानिस्तानका राष्ट्रपति असरफ गनीले बुधबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गरेका छन्। सम्बोधनमा उनले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटना बाट बचाउन देश छाडेको बताए उनले तालिबानीले राजधानी काबुल कब्जा गरिसकेपछि पनि आफू बसिरहेको भए ठूलो रक्तपात हुने र लाखौं नागरिकको ज्यान जाने भएकाले त्यो रोक्न बाध्य भएर मुलुक छाडेको बताएका छन्। ताजिकिस्तानमा रहेका अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६ दशमलव ९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए । फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुटो भएको भन्दै अस्वीकार गरेका थिए । भिडिओ सन्देशमा गनीले आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताएका थिए । परिवारका सदस्य र सुरक्षाकर्मीसहित यूएई पुगेका गनीलाई मानवताका आधारमा शरण दिइएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ। गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा घानी देश छाडेर हिडेका थिए।