युवापोष्ट, १ असार काठमाण्डौ। आज असार १ देखि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आगामी असार ६ गते सम्म इच्छुक आवेदकहरुले आइपिओ भर्न सक्नेछन् । माग बमोजिमको आवेदन नपरेमा भने ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको हो। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन मिल्छ।
जारी गरिएको कित्तामध्ये कम्पनीले ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी ६२ हजार ६१५ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो। आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने बताइएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाण्डू रहेको छ। आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड एक ‘घ’ वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो। यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ। लघुवित्त सन् २०१८ मे २३ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो।
आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP B+ (Is)” ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको जनाउँदछ। केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP AAA(Is)” देखि “CARE-NP D(Is)” सम्मको रेटिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “CARE-NP AAA(Is)” ले (Highest degree of Safety Regarding Timely Servicing of Financial Obligation) सकारात्मक आधार जनाउँछ भने “CARE-NP D(Is)” ले (Default or are Expected to be in Default soon) नकारात्मक आधारहरु जनाउँछ।
यो लघुबित्त सामाजिक संस्थाको रूपमा कार्यरत महिला आदर्श सेवा केन्द्रले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको ईजाजतप्राप्त गरी २०५८ सालदेखि गर्दै आएको लघुवित्त कार्यक्रम लाई रुपान्तरण गरिएको र २०७५ जेष्ठ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको संस्था हो । मिति २०७५ कार्तिक २५ गते “घ”वर्गको वित्तीय संस्थाको रूपमा ईजाजतपत्र प्राप्त गरी मिति २०७५ पौष १ गतेदेखि औपचारिक रुपले वित्तीय कारोबार गरिरहेको छ।
स्वरोजगार तथा आयआर्जनका लागि कृषि, घरेलु उद्यम, सेवा, व्यापार तथा अन्य सम्भाव्य उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुऱ्याउने मुख्य उद्देश्य रहेको छ । यस लघुवित्तले ५ वटा जिल्लामा रहेका ७ वटा शाखा कार्यालय मार्फत ५,८५१ जना सदस्यहरुलाई लघुवित्त जना सेवा प्रदान गरिरहेको छ।