युवापोष्ट, ९ बैसाख । आज बिहान ८ बजेबाट शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ।
२०७६ सालदेखि दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा अर्थात बिद्यालयको मुल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन भएको हो।
यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।
जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ।
प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।
एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।
साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेशले बोर्ड प्रदेश कार्यालयको समन्वयमा काम गर्नेछ । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहने व्यवस्था छ ।