इजरेली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको यूके र अमेरिकाको विश्वास
यूके र अमेरिकाले ओमानी तटमा रहेको इजरेलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको आफूहरूलाई विश्वास लागेको बताएका छन्। इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको (प्रमाण) रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो। उता इरानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। इजरेलको स्वामित्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो। त्यस क्रममा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक मारिएका थिए।