इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमी माथी हत्याको प्रयास
युवा पोस्ट, कार्तिक २१, २०७८,
इराकी प्रधानमन्त्री मुस्तफा अल–खादिमीलाई राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको छ । आक्रमणपछि उनी आफू त्यहाँबाट भागेको बताएका छन्। अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना उक्त आक्रमणमा परि घाइते भएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान समेत गरेका छन्। उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। प्रधानमन्त्री अल-खादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुन्। उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। अहिलेसम्म उक्त आक्रमणको कसैले पनि जिम्मा लिएको छैन। अमेरिकाले घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।