एमसीसी पास गराउन अमेरिकी कूटनीतिक अधिकारी आज नेपाल आउँदै
युवा पोस्ट, मंसिर १, २०७८,
संयुक्त राज्य अमेरिका र नेपालबीच भएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताले नेपालको सार्वभौमसत्तालाई कमजोर बनाउने दाबी केही प्रमुख दलका नेताहरूले दाबी गर्दै आएका छन्। तर निजी क्षेत्रका प्रमुख सङ्घसंस्थाहरूले एउटा विकास परियोजनाले देशको अस्तित्वमाथि नै प्रश्न उठाउन नसक्ने टिप्पणी गरेका छन्। यसै साता नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घ र नेपालका प्रमुख चारवटा व्यावसायिक तथा औद्योगिक संस्थाका प्रतिनिधिहरूले यथाशीघ्र एमसीसी अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए। अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सँग भएको सम्झौता अनुमोदनका लागि फतिमा सुमार नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरेर फर्किएको विषय सेलाउन नपाउँदै अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी नै नेपाल आउने भएका छन् । दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनल्ड लू प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूलाई भेट्न आज बुधवार काठमाण्डू आइपुग्ने परराष्ट्र स्रोतले बताएको छ ।