ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेजको निरन्तरता
युवा पोस्ट, मंसिर १, २०७८, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । आजै सातदोबाटोस्थित एन्फा कन्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमानले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मुख्य प्रायोजकले १ लाख ५० हजार डलर उपलब्ध गराउनेछ भने लिगको नाम कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग राखिनेछ ।यसपटकको ‘ए’ डिभिजन लिग आउँदो शुक्रबारदेखि सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् ।यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग बिजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउने बताइएको छ ।