काठमाण्डौ उपत्यकामा साँझ ८ बजेपछि पनि सवारी चल्न पाउने, भदौ १६ गतेसम्म निषेधाज्ञा थप
काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड-१९ रोकथामका लागि जारी गरिएको प्रतिबन्धात्मक व्यवस्था भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेका छन्। मङ्गलवार बसेको बैठकले उपत्यकाका तीन जिल्लाको अवस्थाको मूल्याङ्कन गरेर निर्णय लिइएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। यसअघि राति ८ बजेपछि अत्यावश्यक बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो। अहिलेको निर्णयबाट उक्त व्यवस्था हटेको छ।
१६ गतेसम्म साबिक बमोजिमको मोडालिटिमा थप गर्ने निर्णय भएको छ, पराजुलीले भने, आठ बजेसम्म पुगिसक्नुपर्ने भन्ने चाहिँ अहिले हटाइएको छ। स्वास्थ्य र शान्ति सुरक्षाको मापदण्डका आधारमा अरू नियम भने कायमै रहेको उनले जानकारी दिए। रेस्टुराँहरूले टेक अवे साँझ ८ बजेसम्म मात्र दिन पाउने तर त्यसपछि पनि मानिसहरू हिँडडुल भने गर्न पाउने उनले बताए। नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या केही घटेजस्तो देखिएका बेला पछिल्ला व्यवस्थाहरू केही खुकुलो पारिएको पराजुलीले जानकारी दिए। अधिकारीहरूका अनुसार कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार पारेको स्मार्ट लकडाउनको मापदण्डका आधारमा उपत्यकामा निषेधाज्ञाहरू लागु गरिएको हो। सीसीएमसीले पाँच निर्धारक तय गरेर त्यसकै आधारमा बन्द र खुला रहने क्रियाकलापको सूची तयार गरेको छ ।