कानून दिवसको अवसरमा कामू प्र.न्या. दिपक कुमार कार्कीको प्रेस बिज्ञप्ति
युवा पोष्ट, २६ बैसाख । कानून दिवस ,२०६९ को अवसरमा कामु प्रधानन्यायाधीश श्री दिपक कुमार कार्कीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दिक शुभकामना दिँदै भन्नु भयो । “ प्रधान न्यायालय ऐन, २००८ लागू भएको सम्झना स्वरुप प्रत्येक वर्ष बैशाख २६ गते कानून दिवस मनाईदै आएको छ । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरण सम्बन्धी मान्यताको ब्यवहारिक कार्यान्वयन गर्दै कानूनी शासनको पालना कोशेढुगां सावित भएको उक्त दिनको महत्व आज पर्यन्त उत्तिकै रहेको छ ।“
उहाँले थप्दै भन्नुभयो ।
”न्याय गरेर मात्र हुदैन गरेको जस्तो पनि देखिनुपर्दछ भन्ने मान्यतालाई आत्मासात गर्दै न्यायिक काम कारवाही एवम् प्रकृयामा कुनैपनि कोणबाट शंका एवम् अविश्वास पैदा हुन नसकोस भन्ने उद्धेश्यले स्वचालित पेसी व्यवस्थापन पद्धति लागू गर्नको लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण लगाएत प्राविधिक पक्षको तयारी र सो का लागि आवश्यक पर्ने बजेट निकासाका लागि पकृया अगाडि बढाईएको छ । स्वचालित पेसी ब्यवस्थापन पद्धति लागू नहुँदासम्मको लागि अल्पकालिन उपायको रुपमा गोला प्रकृयाद्वारा पेसी ब्यवस्थापन गरी प्रकृयामा पारदर्शिता एवम् स्वच्छताको पूर्ण प्रत्याभूति गरिएको छ ।“
प्रेस विज्ञप्तिमा भन्नुभयो ।“क्षतिपुर्ती सहितको न्यायको संबैधानिक सुनिश्चितताको विषयलाई ब्यवहारमा कार्यान्वयन गर्नको लागि न्यायपालिका हर तरहले प्रयारत रहेको छ । पीडित राहत कोषको प्रभावकारी परिचालनमा सरोकारवाला सबैको सकारात्मक पहल आवश्यक देखिएको छ ।”