काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुईवटा शक्तिशाली बम विस्फोट
काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार दुईवटा शक्तिशाली बम विस्फोट भएको छ ।आक्रमणकारीहरूले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । उनीहरूले विमानस्थलमा हजारौँ संख्याको भीडलाई लक्षित गरी विष्फोट गराएका थिए । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा कम्तीमा ९० जनाको ज्यान गएको छ भने १५० जना गम्भिर घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालयले आक्रमणमा १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो। सो होटल ब्रिटिश अधिकारीहरूले यूके जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न प्रयोग गरिरहेका थिए। पहिलो बम विस्फोटन भएपछि बन्दुकबाट गोली चलाइएको र त्यसपछि विमानस्थलको एउटा प्रमुख प्रवेशद्वारनजिकै दोस्रो विस्फोटन भएको थियो। समाचारहरूका अनुसार दोस्रो विस्फोट फोहोर पानी बग्ने ढलनजिकै भएको थियो र जहाँ अफगान नागरिकहरू कुरिरहेका थिए। काबुल विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी ‘आईएस-के’ समूहले लिएको छ।