कोभिड का कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी
युवा पोस्ट, मंसिर ८,२०७८,
सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ, जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ।फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्। डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ।”अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ,” डब्ल्यूएचओले मङ्गलवार भनेको छ।