कोभिड-१९बाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सदर
भारतको सर्वोच्च अदालतले कोभिड-१९ कारण मृत्यु हुने व्यक्तिका नजिकका आफन्तलाई ५० हजार रुपैयाँको क्षतिपूर्ति दिने सरकारी निर्णय सदर गरेको छ। भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत क्षतिपूर्ति माग गर्दै वकिलहरूले सर्वोच्च अदालतबाट आदेश माग गरेका थिए। गत जुन महिनामा वकिलहरूले क्षतिपूर्ति दिलाउन अदालतको हस्तक्षेप माग गर्दै मुद्दा दायर गरेका थिए। उनीहरूले कोभिड -१९ भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन कानुन अनुसार क्षतिपूर्ति दिइनु्पर्ने प्रकोप भएको बताएका थिए। सन् २००५ मा बनेको उक्त कानुनले प्रकोपमा नागरिकको मृत्यु भएमा परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ। न्यायाधीश एमआर शाहका अनुसार , मृतकको सबभन्दा नजिकको नातेदारलाई उक्त क्षतिपूर्ति दिईने र त्यो राज्य र केन्द्रले दिने अन्य सुविधा बाहेकै दिइने बताएका छन् । अदालतले नजिकका नातेदारले क्षतिपूर्ति माग आवेदन गरेको ३० दिनभित्र उपलब्ध गराउनुपर्ने पनि आदेश गरेको छ। अहिलेसम्म भारतमा ४ लाख ४७ हजार भन्दा बढीको कोभिडबाट मृत्यु भएको औपचारिक तथ्याङ्क छ।