तालिबानहरु इश्लामिक अतिवादी हुन्। तालिवान शब्द पास्तु भाषाबाट बनेको हो जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीको रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे । मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।अफगानिस्तानमा पास्तुन जातिको बाहुल्यता छ। ४२ प्रतिशत पास्तुन छन् भने २७ प्रतिशत ताजिक छन्। अन्य जाति नौ प्रतिशतभन्दा पनि कम छन्। त्यसैले तालिबानहरु जातीय रुपमा अफगानिस्तानमा बलियो मानिन्छन्। पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रका पास्तुन र उत्तरी क्षेत्रका ताजुक लगायत अतिवादी इस्लामिक समूह मिलेर तालिबानको गठन भएको हो।तालिबानहरुको उदय सन् १९९० को दशकको सुरुवातमा पाकिस्तानको उत्तरी क्षेत्रमा भएको थियो। तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिआ कानुन लागु गर्ने वाचा गर्यो।
अफगानिस्तानबाट सोभियत संघका सेना फिर्ता भएपछि उनीहरुले सत्ता कब्जाका लागि संघर्ष सुरु गरेका थिए। उनीहरु इश्लामिक अर्थात् शरिआ कानुनअनुसार सत्ता सञ्चालन गर्न चाहन्थे। तालिबानहरु करिब साढे पाँच वर्ष सत्तामा रहँदा इस्लामिक शरिआ कानुन लागू गरेका थिए। शरिआ कानुनअनुसार सबै महिलाहरुले अनिवार्य बुर्का लगाउनुपर्ने, महिलाहरु परिवारका पुरुषसँग मात्र बाहिर निस्कन पाइने,१० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान नदिइने, पुरुषहरुले अनिवार्य दाह्री बढाउनुपर्ने हत्या र व्यभिचारीमा दोषी पाइए सार्वजनिक रुपमा फाँसीको सजाय हुने,चोरीको दोषी ठहरिए शिर छेदन वा अङ्गभङ्ग गरिने , टेलिभिजन, संगीत र सिनेमालाई प्रतिबन्ध लगाइने आदि क्रुर शासन थियो ।
तालिबानका संस्थापक नेता मुल्लाह मोहम्मद ओमार हुन्। उनले सन् १९९४ देखि २०१३ सम्म यसको नेतृत्व गरे। तालिबानहरुले सन् १९९४ मा सत्ता प्राप्तिको लडाइँ चर्काएका थिए। उनीहरुले सन् १९९६ मा काबुल कब्जा गरे। तालिबानले बुर्हारुद्दिन रब्बानीको सरकारलाई सत्याच्युत गरेका थिए। त्यसपछि सन् २००१ सम्म सत्तामा रहे।अमेरिकी नेतृत्वको सेना सन् २००१ मा अफगानिस्तान प्रवेश गरेपछि तालिबानलाई सत्याच्युत गरेको थियो। ११ सेप्टेम्बर २००१ मा अल कायदाले अमेरिकाको न्यूयोर्कस्थित ट्विन टावरमाथि आक्रमण गरेपछि त्यसका नेता ओसामा बिन लादेनलाई खोज्न अमेरिका अफगानिस्तान पसेको थियो। काबुलबाट लखेटिएको तालिबान पहाडका कुना–कन्दरा र गाउँहरुमा लुकेर अमेरिकी नेतृत्वको सेनासँग लगातार भिडिरहेका थिए। शहरमा उनीहरुको उपस्थिति थिएन। तर, करिब ८५ हजार पूर्णकालीन लडाकु भएको तालिबानले गाउँमा भने कब्जा जमाएकै थियो।