गाईजात्राको इतिहास के छ ?गाईजात्रालाई किन मृत्युको गणना गर्ने जात्रा भनिन्छ?
काठमाण्डौ उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको मानिन्छ। तर ६०० वर्षअघिको गोपालराज वंशावलीमा (सायातु) भन्ने शब्द उल्लेख गरिएको र जहा (सा) को अर्थ गाई र (यातु)को अर्थ जात्रा भएको उल्लेख गरेको पाउन सकिन्छ । हिन्दू धर्ममा गाई पवित्र जनावर हो। नेवार समुदायले मनाउने गाईजात्रा दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठ्युमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ, जसमा मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ ।।नेवारी भाषामा यो पर्वलाई (सापारू) भनिन्छ। (सा) को अर्थ गाई र (पारू)को अर्थ प्रतिपदा तिथि हो ,जुन दिन यो चाड मनाइन्छ। भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन्। गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ। तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो। बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ। त्यसको महत्त्वपूर्ण सन्देश चाहिँ यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो। परम्परागत सहरमा तपाईँ बस्नुहुन्छ भने वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाई जात्रा घुमाउने बाटोमा दिनभरि तपाईँ ढुकेर बस्नुहोस् एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ।
भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिन्छ ।आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। गाईजात्राको एक दिन अघि जनै पूर्णिमा पर्छ। त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म उक्त पर्व मनाइन्छ।