ग्लोबल आइएमई बैंकको सरल किस्ताबन्दीमा ल्यापटप योजना
ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसकोतर्फबाट सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकहरुलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने छ । उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पे मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सकिने छ । यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ्ग साक्षारतासम्बन्धी कार्यक्रम समेत आयोजना गर्नेछ ।