चीनमा बढ्दो कोरोनाको कारण बेइजिङ ओलम्पिकको योजना बिग्रीयो
युवा पोस्ट, माघ ४, २०७८, मंगलबार , यही आउदो फेब्रुअरी ४, २०२२ देखि सुरु हुने शीतकालीन ओलम्पिक खेलकुदका आयोजकहरूसँग ओलम्पिकको तयारीलाई अन्तिम रूप दिन एक महिनाभन्दा कम समय बाँकी रहेको बेला चीनमा कोरोनाको संक्रमण बढ्दै गएको छ। चीनमा सोमबार ११० वटा नयाँ स्थानीय स्तरमा कोभिड-१९ का बिरामीहरू फेला परेको भनी राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबारको आफ्नो दैनिक रिपोर्टमा बताएको थियो। नयाँ संक्रमितहरु मध्ये, हेनानमा ८७, शान्सीमा १३ र तियानजिनमा १० जनामा रिपोर्ट पोजेटिभ आएको आयोगले जनाएको छ। कोरोना भाइरसको महामारीका कारण चीनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहको कार्यक्रम घटाएको छ । चिनियाँ चलचित्र निर्देशक झाङ यिमुले राजधानीमा आयोजित सन् २००८ को समर गेम्सको तुलनामा उद्घाटन समारोह धेरै सानो हुने घोषणा गरेका छन् । खेलको उद्घाटन तथा समापन समारोहका मुख्य निर्देशक झाङ लाई नियुक्त गरिएको छ ।