09:23:43 am 03-Jul-2022

चैते धानको मूल्य भुसको भन्दा कम


चैते धानको मूल्य भुसको भन्दा कम

युवापोष्ट ६ असार, काठमाण्डौ । अहिले तराईका किसानको खेतमा लहलह चैते धान झुलिरहेको छ । अन्य क्षेत्रमा धान रोप्न शुरु भएको समयमा यहाँ धान काट्न धमाधम हुन्छ । मनसुन शुरु भईरहेको छ । किसानको खेत हेर्दा मख्ख पर्ने अवस्था छ । तर मन खुसी छैन । किसानको मन खिस्रिक्क छ । किनकि अहिले चैते धानको मुल्य छैन । बर्षातको बेला यो भित्र्याउन किसानलाई धेरै झन्झट हुन्छ । धान काट्ने बेला आकाश हेर्नुपर्छ । खेतमा हिलो हुन्छ । उस्तै बेला पानी चुहाउँदै/ तर्‍याउदै धान ल्याउनु पर्छ । काटेको धान भण्डारण गर्न कम्ति सास्ति हुँदैन । अझ यस बेला खेताला/ज्यामीको ज्याला अझ चर्को हुन्छ । घरको बरण्डा वा त्यस्तै पानी नपर्ने स्थानमा भण्डारण गर्नुपर्ने हुन्छ । यसलाई धेरै दिन राख्न पनि सकिदैन । पानी नपरेको दिन पारेर पालो अनुसार महंगोमा थ्रेसर लगाउनु पर्छ । त्यसको पनि महंगो ज्याला दिनुपर्छ । तर धानको मुल्य भूसको भन्दा कम छ ।  

यस्तै किसानका केही अनुभवहरु गौरादह–५ रामकृष्ण चापागाईले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए । धान ७५ मन फल्यो । तर, धानको मूल्य लगानी पनि नउठ्ने भएपछि चिन्तित छन्, उनी । चैते धानले मूल्य राम्रो नपाएपछि अर्को वर्ष चैते धान लगाउने कि नलाउने भन्ने दोधारमा छन्, उनी ।

‘चैते धानको त मूल्य नै छैन नि !,’ उनी भन्छन्, ‘खर्च पनि उठ्दैन । मनको ६ सयदेखि ६ सय ५० मात्र छ । अर्को वर्ष लगाउने कि नलगाउने भन्ने दोधारमा छु ।’ आजकाल खेतीमा काम गर्ने जनशक्ति पनि छैन । खेतीको काम सबै कृषि औजारबाट हुँदै आएको छ । यो खर्चिलो पनि रहेको उनी बताउँछन् । ‘उत्पादन खर्च बढेको छ । तर, लगानी पनि उठ्दैन । कसरी कृषि पेसा गर्ने ?,’ उनी भन्छन् ।

त्यस्तै सुन्दर हरैचा ३ मोरङ्गका कृषक प्रेम प्रसाद ढकाल भन्नुहुन्छ । उहाँ पुर्व शिक्षक पनि हुनुहुन्छ । शिक्षक पेसा छोडेर पुर्णकालिन रुपमा खेति गर्न थाल्नुभएका प्रेम सर भन्नुहुन्छ पहिले जस्तो अहिले चैते धानमा राम्रो उत्पादन हुँदैन । अहिले चैते धानको मुल्य त भुस/चोकर भन्दा पनि सस्तो छ । म त अहिले चोकर किन्नु भन्दा पनि यसलाई सिधै पिसाएर गाईलाई खुवाँउछु । पानी परेर कतै हकुवा भयो भने त कुरै छोडुम यसले त कति घाटा पुर्याउँछ पुर्याउछ । भाउ नै दिदैनन् । सरकारले धानको समर्थन मुल्य नतोक्दा धेरै गारो छ ।

गरामनीका रमेश पोख्रेलले पनि चैते धान लगाएको छ । तर, चैते धानको मूल्य कम हुँदा समस्या भएको उनी बताउँछन् । ‘भुस प्रति केजी १५ रुपैयाँ पर्छ । चैते धान १२ देखि १५ रुपैयाँमा मात्र बिक्री हुन्छ । अनि धानभन्दा भुस सस्तो भएन ?,’ उनी भन्छन्,‘किसानको लागत नै उठ्दैन । बरु खेती नगर्दा त घाटा भएन नि त्यही भएर खेती नै नगर्ने अवस्था आएको छ ।’

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]