जेलमा रहेका कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु
युवा पोस्ट, कार्तिक २८, २०७८,
दक्षिण अमेरिकी मुलुक इक्वेडरको गाकुइल सहरमा रहेको एउटा जेलमा रहेका कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । लिटोरल पेनिटेन्टियरी जेलमा भएको भिडन्त शुक्रबार बिहान बाट सुरु भएको थियो ।दंगा लागुऔषध तस्कर र माफिया समुह (ड्रग्स कार्टेल) विच भएको बताइएको छ । मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुने गरेका छन्। प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । ग्वायाकिल जेलमा दुई समूहबीच झडप हुँदा गएको सेप्टेम्बरमा पनि १०० भन्दा बढी कैदीहरूको मृत्यु भएको थियो ।सेप्टेम्बरमा भएको दुई समूहबीचको घटना भने त्यहाँको इतिहासमै सबैभन्दा हिंसक हो। त्यस बेला कारागारको एउटा क्षेत्रमा रहेका कैदीहरू सुरुङबाट अर्को क्षेत्रमा प्रवेश गरी विरोधी समूहका कैदीमाथि आक्रमण गरेका थिए । त्यहाँको स्थिति नियन्त्रण गर्न सयौँ सुरक्षा अधिकारीहरू र सैनिकहरू तैनाथ गरिएका थिए। शनिवार पनि त्यहाँ झगडा कायम रहेपछि कारागार बाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट सुरक्षित गरिएको बताइएको छ।यो वर्ष इक्वेडरको जेलहरूमा झन्डै ३०० जना कैदीहरूको मृत्यु भएको छ ।