जोर्डनका राजाले विदेशमा झन्डै १२ अर्बको घरजग्गा गोप्य रूपमा किनेको खुलासा
जोर्डनका राजा अब्दुल्लाह बिन अल हुसेनले गोप्य रूपमा १० करोड डलर (९११ अर्ब ८४ करोड रुपैयाँ) भन्दा बढी खर्च गरेर यूके र अमेरिकामा घरजग्गा जोडेको खुलासा भएको छ। राजा अब्दुल्लाह मध्यपूर्वका लागि पश्चिमाहरूका लागि एक जना मध्यमार्गी साझेदारका रूपमा चिनिन्छन्। सम्पत्ति प्रति उनको रुचि सन् २००३ देखि २०१७ सम्म बढिरहेको देखिन्छ र यो बेला देशभित्र निरङ्कुश शासन चलाइरहेको आरोप उनीविरुद्ध लागिरहेको छ।राजा अब्दुल्लाहले वाशिङ्टन डीसीको जोर्जटाउनमा सन् २०१२ र सन् २०१४ चार वटा अपार्टमेन्ट खरिद गरेका थिए। सरकारी खर्च घटाउने र कर वृद्धिका निर्णयसँगै त्यहाँ हालैका वर्षहरूमा प्रदर्शन पनि भइरहेको छ। जोर्डनका अधिकारीहरूले सन् २०२० को जुनमा विदेशमा रकम पठाउने आफ्ना नागरिकहरूलाई कारबाही गरिने बताएका थिए। जोर्डनले उल्लेख्य रूपमा अमेरिका र यूके सहितका देशबाट अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्छ। हालै पाँच वर्षका लागि दिइने सहायतालाई दोबर बनाउँदै यूकेले जोर्डनलाई ६५ करोड पाउन्डभन्दा बढी दिने बताएको थियो।