अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिने भएको छ । यसअघि छात्राहरूले पोसाक सम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला/पुरुष एकै कक्षामा पढ्न पाउँथे। तर अब देखि त्यस्तो नहुने भएको छ ।अफगानिस्तानमा उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। छात्र/छात्राहरूलाई प्राथमिक र माध्यमिक तहका विद्यालयहरूमा पनि अलगै पढाइनेछ। हक्कानीका अनुसार पर्याप्त महिला शिक्षकहरू रहेको ठाउँमा महिलाले नै छात्राहरुलाई पढाउने र उपलब्ध नरहेका स्थानमा वैकल्पिक उपाय पहिचान गरी पुरुष शिक्षकहरूलाई पर्दा पछाडिबाट पढाउने गरी प्रयोग गर्न सकिन्छ वा प्रविधिको प्रयोग गर्न सकिने बताएका छन् ।