त्रिदेशीय सम्झौताका कारण उत्पन्न विवादबीच फ्रान्सद्वारा यूकेसँगको रक्षावार्ता रद्द
ब्रिटेन, अमेरिका र अस्ट्रेलियाबीचको एउटा नयाँ सुरक्षा सम्झौतालाई लिएर सिर्जना भएको विवादका माझ फ्रान्सका रक्षामन्त्रीले ब्रिटिश समकक्षीसँगको एउटा वार्ता रद्द गरेका छन्।अस्ट्रेलियाले पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने एउटा सम्झौतामा हस्ताक्षर गरेपछि प्यारिस क्रुद्ध बनेको छ। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सले उक्त सम्झौताका कारण कुनै चिन्ता व्यक्त नगर्नुपर्ने बताएका छन्। तर फ्रान्सेली मन्त्री फ्लोरेन्स पार्लीको यूकेका रक्षामन्त्री बेन वालेससँग यसैसाता लण्डनमा तय गरिएको बैठक रद्द गरिएको छ। गत साता गरिएको उक्त ओकस सम्झौतालाई साउथ चाइना सीमा चीनलाई चुनौती दिने कदमका रूपमा हेरिएको छ।त्यस सहकार्यले सन् २०१६ मा अस्ट्रेलियाले फ्रान्ससँग १२ वटा परम्परागत पनडुब्बी बनाउन गरेको ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता अन्त्य गर्नेछ। फ्रेन्च विदेशमन्त्री जाँ यिभ ल द्रियाँले त्यस कदमलाई पिठयूँमा छुरा रोपिएको र त्यो साझेदार र गठबन्धनबीचको अक्षम्य व्यवहार भएको बताएका छन्।