दशैं, तिहारलक्षित सुपथ मूल्य पसल भोली देखि सञ्चालन हुने
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सो क्रमलाई जारी राख्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल भोली शुक्रबार असोज १ गते देखि कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । सुपथ मूल्य पसल कम्पनीको कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको छ । कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ । यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ ।