अबदेखि दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रावधान लागु भएको छ। विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ। नेपाल सरकारद्धारा राजपत्रमा प्रकाशित सूचना अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको हो। प्रदेशको स्थायी नाम कायम नभएका कारण प्रदेश नं १ र प्रदेश नं २ मा भने पुरानै व्यवस्था जारी रहने बताइएको छ। सरकारले उपलब्ध गराउने नम्बर प्लेट मशीन इम्बोस्ड हुने हुँदा अङ्क र अक्षर मशीनबाट छापिएको हुन्छ। अर्थात् विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन।दुईपाङ्ग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ। चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ। उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणहरूले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ। सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ ,ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ। विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ। एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने सम्भावना घट्छ र गलत नम्बर प्लेट प्रयोग गर्न मिल्दैन ।