युवा पोस्ट, कार्तिक २८, २०७८, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम दुई सातापछि सुरु भएको छ । गत कार्तिक ११ गते एक कामदारको मृत्यु भएपछि काम ठप्प भएको थियो । माटो फालेर सुरुङभित्र फर्किने क्रममा २७ वर्षीय ओमकृष्ण पाण्डेलाई ट्रकले ठक्कर दिदा उनको मृत्यु भएको थियो । पाण्डेको मृत्यु भएसँगै रोकिएको काम सुरु भइसकेको आयोजनाका निर्देशक नरेशमान शाक्यले बताएका छन् । शुक्रबार समस्या समाधान भएपछि काम फेरि थालिएको हो । ठेक्का सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नुपर्ने थियो अब उक्त सम्झौताको १८ महिना मात्र बाँकी छ । यो समयभित्र सुरुङ निर्माणको काम सकिने आयोजनाको दाबी छ । साढे २२ अर्ब रुपैयाँमा ठेक्का लगाइएको सुरुङको दूरी २.६८ किलोमिटर छ जसमा जापानको साढे १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब लगानी रहेको छ ।