नेकपा समाजबादिका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्दै
१४, कार्तिक, विराटनगर । गठबन्धन दलहरूको आइतबारको बैठकले मुख्यमन्त्री आचार्यको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय गरेको छ यसमा विपक्षी पाँच दलीय गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने भएको छ ।
सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसद्ले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनाए । अहिले गठबन्धनले केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारी रहेको कार्कीले बताए ।
सत्तारुढ गठबन्धनले वाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्ने तर कांग्रेसको आधार क्षेत्र प्रदेश १ मा सिंगो कार्यकाल एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय मान्य नहुने भन्दै कांग्रेसले कात्तिक ७ गतेको प्रदेशसभा बैठक स्थगित गराएको थियो ।
यस्तै कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवदेन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२:३० बजेसम्मका लागि सदन स्थगित गरेको हो ।
मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंग्याउने कार्यसूची तय गरिएको छ । यदी मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत ४३ औं दिनमा कात्तिक ५ गते सदनमा प्रस्ताव पेस गरेका थिए ।
एमालेका १० जना प्रदेश सांसद् नेकपा (एस)मा लागेपछि एकल बहुमतमा रहेको एमाले विभाजित भई मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।