युवा पोस्ट, माघ १३, २०७८, बिहीबार, नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। बुधवार सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ छ।
राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घटेको देखिएको छ। एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत थियो। अहिले त्यो ०.९३ मा झरेको २०७८ सालको जनगणनाले देखाएको छ।
नेपालमा २०६८ सालको जनगणनामा पनि त्यसअघिको भन्दा ०.९० प्रतिशतले वृद्धिदर घटेको थियो।