नेपालमा ओमिक्रोन भेरिअन्ट भेटिएपछि स्मार्ट लकडाउन गर्ने तयारी
युवा पोस्ट,पौष २५,२०७८,आइतबार, नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ।आज आइतवार अपरान्ह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विगत २४ घण्टामा १,१६७ जनामा सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये ६१५ जना काठमाण्डौ उपत्यकामा मात्र भेटिएको छ अर्थात् आधाभन्दा बढी काठमाण्डौं उपत्यकामा छन्। काठमाण्डौमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ सङ्क्रमित थपिएका हुन्।
उपत्यकाका तीन जिल्लामा हुने सक्रिय सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी रहेको छ छ। गत साता नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएपछि उक्त भेरिअन्ट फैलिने वा फैलिसकेको हुन सक्ने स्वास्थविज्ञहरूको आशङ्का छ। तर पनि डेल्टा भेरिअन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या उच्च रहेको विज्ञहरू बताउँछन्। सङ्क्रमण दर बढ्न थालेसँगै सरकारले प्रतिबन्धात्मक योजनाहरूमाथि छलफल गरिरहेको अधिकारीहरूले बताएका छन्। सङ्क्रमण नियन्त्रणका लागि तत्काल निषेधाज्ञा वा कडा खालका प्रतिबन्धको योजना नभएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।” भिडभाड व्यवस्थापनका लागि योजनाहरू बनिरहेका छन्। लकडाउन नभई स्मार्ट लकडाउनको सम्भावना चाहिँ छ। कहिलेदेखि र कसरी भन्ने चाहिँ टुङ्गो लागेको छैन,” उनले भने।