बङ्गलादेशमा शरण लिइरहेका रोहिंज्या शरणार्थीहरूलाई मानव तस्करी गरी नेपाल ल्याइपुर्याएको आरोपमा तीनजना पक्राउ परेका छन् । गत भदौमा एक साताको बीचमा दुई समूहमा १४ जना रोहिंज्या शरणार्थी काठमाडौं आइपुगेपछि अनुसन्धान सुरु गरे संगै तीन जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये दुईजना काठमाडौं बस्दै आएका रोहिंज्या शरणार्थी छन् भने एकजना बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। भुटानी शरणार्थीजस्तै नेपालबाट अमेरिका र युरोप लैजाने व्यवस्था हुने र नेपाल बसुन्जेल पनि भत्ता पाइने प्रलोभन देखाएर उनीहरूलाई काठमाडौं सम्म ल्याउने समूहले रोहिंज्याबाट ठूलो मात्रामा पैसा उठाएको प्रहरीको दाबी छ। बङ्गलादेशको एउटा शिविरमा आश्रय लिइरहेका शरणार्थीहरूलाई काँकडभिट्टा नाका हुँदै तीन दिनको सडक यात्राबाट काठमाडौं ल्याइपुर्याइएको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ। नेपालमा झन्डै एक दशक अघिबाटै सानो सङ्ख्यामा म्यान्मारका रोहिंज्या शरणार्थीहरू बसोबास गरिरहे पनि चार वर्षअघि त्यहाँ रोहिंज्यामाथि भएको दमनपछि नेपालमा उनीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्यो। अहिले कपनस्थित शिविर बनाएर बसिरहेका रोहिंज्याहरूको सङ्ख्या चार सयभन्दा बढी रहेको बताइन्छ। नेपालमा पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशजस्ता दक्षिण एशियाली देशबाहेक इरान र सोमालिकाका शरणार्थी छन्। तीमध्ये रोहिंज्या शरणार्थीहरू मात्रै शिविरमा बस्दै आएका छन्। बाँकी देशबाट आएका शरणार्थीहरू काठमाडौंका विभिन्न स्थानमा डेरामा बस्ने गरेका छन्।