नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई कारबाही गर्न धितोपत्र बोर्डका कर्मचारीको माग
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही सहित निलम्बन गरेर छानबिन गर्न माग गरेको छ । नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब ११ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा भेटिएपछि नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सो माग राखेका हुन् । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि अख्तियारले समेत यस विषयमा अनुसन्धान शुरु गरेको छ । शेयर बजारको नियामक निकायकै प्रमुखले आफू र परिवारको शेयर किन्दा बजार प्रभावित हुने र कानुन विपरीतको कार्य भएको भन्दै कर्मचारी युनियनले अध्यक्ष ढुंगानालाई निलम्बन गरेर छानबिनको माग गरेको हो ।