युवा पोस्ट, पौष ६ ,२०७८, विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स घट्दो क्रममा रहेको सङ्केत केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । गत साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स असोजमा करिब ८ प्रतिशतले र कार्तिकमा ७.५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार साउनदेखि कार्तिकसम्म नेपाल भित्रिने रेमिट्यान्स लगातार घटिरहेको पाइएको हो।नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ११.२ प्रतिशतले बढेको थियो। साउनदेखि कार्तिकको अवधिमा रेमिट्यान्स बापत तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ नेपाल भित्रिएको छ।