नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या गत सातादेखि निरन्तर बढिरहेको छ।आज मात्र थप ११ हजार ३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस सँगै आज बुधवार आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ को परीक्षण शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
लक्षण देखिएका व्यक्तिहरूलाई सरकारी प्रयोगशालाहरूमा निःशुल्क परीक्षण गरिने भन्दै उनले लक्षण नदेखिएका व्यक्तिले भने ८०० रुपैया शुल्क तिर्नुपर्ने र त्यसबाहेक निजी प्रयोगशालाहरूले विगतमा पीसीआर परीक्षण गर्दा २,००० रुपैयाँ लिने गरेकोमा अब त्यसलाई घटाएर १५ सय बनाइएको बताए ।