पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफू च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेर फ्रान्सेली क्लबमा आबद्ध भएको बताएका छन् । फ्रेन्च क्लब पीएसजीमा आवद्ध भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा मेस्सीले भने, ‘मेरो लक्ष्य र सपना भनेको फेरि एक पटक च्याम्पियन्स लिग जित्नु हो ।मलाई लाग्छ, त्यसका लागि हामीसँग टिम छ ।’ ३४ वर्षीय मेस्सीले पछिल्लो पटक बार्सिलोनाबाट २०१५ मा च्याम्पियन्स लिग जितेका थिए । मेस्सीले बार्सिलोनासँग भएको घटनालाई अनपेक्षित रहेको बताउँदै त्यसबाट अघि बढ्नु समयको माग रहेको बताए । ‘ गत साता मलाई जे भयो, निकै कठिन थियो । भावनात्मक रुपमा पनि मलाई निकै गाह्रो भयो । अब म र मेरो परिवार नयाँ सुरुवातलाई लिएर उत्साहित छौं । अघिल्लो साता जे भयो, त्यसलाई समयसँगै अघि लग्नुपर्छ ।’१३ वर्षको उमेरमा बार्सिलोना क्लबमा आएका मेसीले उक्त क्लबका लागि ७७८ खेलमा कीर्तिमान ६७२ गोल गरेका छन् ।