प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको छः ओली
कार्तिक ६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा वर्तमान सत्तारुढ गठबन्धनको असली रुप देखिएको बताए ।
आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले आफू नेतृत्वको सरकारको महान् उद्देयश्यलाई हटाएको ओलीले लगाए। पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने?,’ उनले आक्रोश पोखे।
‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ ओलीले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो।’
गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको अध्यक्ष ओलीले बताए । छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि ओलीले टिप्पणी गरे । मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ समेत उनले सचेत गराएका छन् ।