प्रतिष्ठानको आग्रहलाई बेवास्ता गरेको भन्दै दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आइतबार बसेको बैठकले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीत ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाउदै उक्त शब्द तीजको मर्म विपरित रहेको ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी गीत गाउन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरेका थिए । आफूहरुको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको हो । उनलाई प्रतिष्ठानले आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने निर्णय गरेको हो ।