प्रधानन्यायाधीशको राजीनामा माग र न्यायपालिकाको विवाद कहाँ पुग्यो ?
युवा पोस्ट, कार्तिक २२, २०७८,
करिब तीन सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशनले सोमवार देशभरि आफ्ना एकाइसँग परामर्श गरेपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएको छ। सर्वोच्च अदालतका एक न्यायाधीशले बारको आन्दोलनबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामा दिन दबाव पर्ने र परिणाम आउने अपेक्षा व्यक्त गरेका छन्। बारले आइतवारबाट भर्चूअल माध्यमबाट देशका विभिन्न बार एकाइसँग परामर्श सुरु गरेको थियो। सोमवार छलफल सम्पन्न भएपछि नेपाल बारको केन्द्रीय पदाधिकारीको बैठक बसेर अर्को चरणको आन्दोलन घोषणा गर्ने तयारी रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। हिजो दिनभरि गरिएको छलफलमा यदि प्रधानन्यायाधीशबाट राजीनामा आएन भने आन्दोलन सशक्त र देशव्यापी हुनुपर्छ भन्ने सुझाव आएको छ, उनले भने, आज पनि बाँकी बार एकाइसँग छलफल गरेर अनि हामी पदाधिकारीहरू बैठक बसेर अर्को चरणको आन्दोलन घोषणा गर्छौँ। अघिल्लो सातादेखि कालोपट्टी बाँधी धर्नामा बसेका आन्दोलनरत वकिलहरूले सोमवार पनि साढे १० बजेदेखि एक घण्टा सर्वोच्च अदालतको प्राङ्गणमा विरोध कार्यक्रम जारी राखे।