08:05:16 pm 25-May-2022

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त


प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

युवापोष्ट १८ वैशाख, काठमाडौं । आज नेपाल सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।आजै १ बजे बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले युवापोष्टलाई बताए ।

गृहमन्त्री, पुष्पकमल दाहाल र माधव कुमार नेपाल बिबाद हुन सक्ने भन्दै वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजिपि नियुक्त गर्ने पक्षमा थिए ।  तर आईजिपी नियुक्तीमा बालुवाटारको अडानका कारण सिंह आईजीपीमा नियुक्त भएको स्रोतले बतायो ।

यस अघिको सरकारले बिश्वराज पोखरेललाई एकल बढुवा गरेर बिकल्प विहिन अवस्थामा पुर्‍याएकामा अरुलाई बढुवा गरेर बिकल्पको रुपमा सिंहलाई अघि सारिएको बताईएको छ ।

सत्ता गठबन्धनको आज विहान भएको छलफलको क्रममा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए ।

तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे कानुनविद र आफ्नो सल्लाहाकारहरु लगाएत अन्यसँग छुट्टै परामर्श गरेका थिए । विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।

तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

को हुन् सिंह

दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर शैलेश थापाहरुले २०४९ बैसाखमा नियुक्ति लिएका थिए भने यिनले २०४९ चैतमा नियुक्ति लिए ।

यस अघि तल्लो तहको प्रहरी अधिकृतको पदमा रहेर पनि उल्लेखनीय काम गरेको ईतिहाँस छ । यिनी एक ईमान्दार प्रहरी अधिकृतको रुपमा छबि बनाएका छन्। चाहे साना हतियार पक्राउ गर्ने, अबैध गिट्टी उत्खनन् गर्ने कार्यमा यिनको उल्लेखनीय रुपमा काम गरिरहेका देखिन्छन् । विवादरहित ढंगबाट काम गर्ने प्रहरी अधिकृतको रुपमा यिनले छबि बनाएका सिंहले सिआईबिमा रहँदा उल्लेखनीय रुपमा काम गरेको मानिन्छ ।

३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]