फिलिपिन्समा आएको राई आँधीका कारण ७५ जनाको मृत्यु, ३ लाख मानिस घरवारविहीन
युवा पोस्ट, पौष ४ ,२०७८,
फिलिपिन्समा आएको राई आँधीमा परी कम्तीमा ७५ जनाको मृत्यु भएको छ । यो आँधी यस वर्ष मुलुकमा आएको सबैभन्दा खतरनाक आँधी भएको अधिकारीहरूले बताएका छन् । ३ लाखभन्दा बढी मानिस घरबार छोडेर सुरक्षित स्थानतर्फ गएका छन् । आँधीले फिलिपिन्सको दक्षिणी र मध्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीले कैयौं घरका छाना उडाएका छन् भने धेरै ठाउँमा बिजुलीका पोल उडाएका छन् । जसका कारण विद्युत् अवरुद्ध हुनुका साथै अन्य क्षेत्रसँगको सञ्चार सम्पर्कविहीन भएको छ । फिलिपिन्सको बोहोलका गभर्नर आर्थर यापले आफ्नो फेसबुक पेजमा हाल १० जना बेपत्ता र १३ जना घाइते भएको जानकारी दिएका छन् । बिहीबार देशमा आएको सुपर टाइफुन राईमा १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो ।