बहुप्रतिक्षित चलचित्र आरआरआरको रिलिज मिति स्थगित, नयाँ मिति अनिश्चित
युवा पोस्ट,पौष १८ , २०७८, आइतबार, भारतमा कोरोना भाइरस संक्रमणको दर उच्च भएसँगै एसएस राजामौली निर्देशित बलिउडको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ को प्रदर्शन मिति स्थगित भएको छ। एसएस राजामौलीको फिल्म आरआरआर ७ जनवरीमा प्रदर्शन हुने घोषणा भएको थियो। भारतमा नयाँ भेरिएन्टको कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन सुरु भएको छ । कोरोना महामारीकै कारण आरआरआरको रिलिज मिति प्रभावित बनेको हो ।
निकै ठूलो लगानीमा दक्षिण भारतीय सुपरस्टार जुनियर एनटिआर, राम चरणसँगै बलिउड अभिनेता अजय देवगनलगायतको अभिनय रहेको फिल्म पछिल्लो समय निकै प्रतिक्षारत थियो। तर, निरन्तर बढिरहेको महामारीका कारण फिल्म हेर्न दर्शकले थप समय कुर्नुपर्ने भएको छ । संक्रमणका कारण धेरै राज्यमा सिनेमा हल बन्द भएकोले फिल्म रिलिज नगर्न बाध्य भएको निर्माताको भनाइ रहेको छ। चलचित्र निर्माण टोलीले विज्ञप्ति जारी गर्दै उचित समय हेरेर चलचित्र प्रदर्शनको मिति घोषणा गर्ने जनाएको छ। नयाँ रिलिज मिति भने तोकिएको छैन ।