नेपालमा १२ देखि १७ वर्षका बालबालिकालाई दिइने खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। नेपालले हाल फाइजर र मोडेर्ना खोप आयात गर्नका लागि पहल अघि बढाएको र सो को शुल्क तिरिसकेको बताइएको छ। गत अगस्ट महिनाको दोस्रो साता नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व ब्याङ्कले जनाएको थियो। त्यसबाहेक स्वास्थ्य मन्त्रालयले फाइजर खोपको ६० लाख मात्रा खोप लिने गरी तयारी अघि बढाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार नेपाललाई राष्ट्रसङ्घीय बालकोष यूनिसेफ मार्फत् गाभीले एक लाख मात्रा खोप चाँडै नै दिँदैछ । गाभीमार्फत् नेपालले प्राप्त गर्ने भनिएको खोप फाइजर रहेको उनले जानकारी दिएका छन् ।।