युवापोष्ट १५ जेठ, पोखरा । मौसम विभागले यस क्षेत्रमा वर्षाको सम्भावना रहेको पूर्वजानकारी समेत गराएको थियो त्यही पुर्वानुमान अनुसार नै आइतबार बिहानैदेखि गण्डकी प्रदेशको अधिकांश जिल्लामा हुस्सुसहित वर्षा भइरहेको थियो ।पोखरा, म्याग्दी, मुस्ताङको आकाश बिहानैदेखि बादलले ढोकेको भए पनि पोखराबाट तारा एयरको ९ एन (एईटी) विमान जोमसोमका लागि उड्यो ।यस अघि तीनवटा पोखरा- जोमसोम उडान भईसकेको थियो । पाइलट प्रभाकरप्रसाद घिमिरेको कमाण्डमा एयरहोस्ट किश्मी थापासहित १९ यात्रु बोकेको विमान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका थिए ।उक्त विमान ११ बजेदेखि मुस्ताङको लेतेमाथिको आकाशबाट सम्पर्कविहीन भएको थियो । मुस्ताङको थासाङ गाउँपालिकास्थित पर्ने लेते भन्ने ठाउँसम्म त्यहाँका स्थानीयले विमानको आवाज सुनेको बताएका छन् । आकाशमा बादल लागेको कारण विमान भने नदेखेको बताए ।जोमसोम जानको लागि थासाङ गाउँपालिकाको रुट भएर जानुपर्छ । गाउँपालिकाका उपाध्यक्ष सोमलाल हिराचनका अनुसार नजिकैको गाउँका स्थानीयले लेतेसम्म विमान उडेको आवाज सुनेका रहेछन् । उनले भने, ‘यहाँको स्थानीयको अनुसार एक-डेढ घण्टाअघि यही रुट हुँदै उडेको हो रे । तर, माथि जोमसोम नपुगेको कुरा भयो । गाउँपालिकाबाट माथि गइसकेको थियो ।’ जोमसोम नपुग्दा यहीँ बीचतिर कतै दुर्घटना भएको आशंका स्थानीयको छ । लेतेबाट जोमसोम ७ मिनेटको दूरीमा छ । उपाध्यक्ष हिराचनका अनुसार कालीगण्डकीको तीरैतीर गयो भने ठोकिने ठाउँ कुनै छैन । बादल लागेको कारणले कालीगण्डकीको साइड नगइ यतैतिर गएको हुनसक्ने उनको अनुमान छ । यस्तो मौसममा पनि कसरी प्लेन आयो होला भनेर यहाँको स्थानीयले कुरा पनि गर्नुभएको थियो । माथि चाहीँ खुल्ला होला तल भुँइतिर मात्रै बादल होला भनेर सोच्नुभएको रहेछ ।’ कुन्जोबाट लेते वल्लो गाउँ र पल्लो गाउँमा पर्छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटना भएको पुष्टि गर्ने कुनै क्लु फेला नपरेको बताए ।उनले भने, ‘विमान मुस्ताङमा नै हराएको भन्ने छ । तर, दुघर्टना नै भएको भनेर पुष्टि गर्ने कुनै क्लु भेटिएको छैन ।बिमानको खोजीका लागि सबै संयन्त्र परिचालन भईसकेको छ ।’