09:42:01 pm 23-May-2022

बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छोडाउदै


बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छोडाउदै

युवापोष्ट, २ बैसाख । ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ । 

एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेने गरिन्छ । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिव्रो छेडने व्यक्तिको जिव्रो छेडिदिन्छन् । त्यसपछि जिव्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।

भक्तपुरमा नव बर्षको उपलक्ष्यमा बिस्केट जात्रा मनाउने त्यस क्रममा जिब्रो छोड्ने जात्रा मनाउने चलन छ ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।

जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरु भएको छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ ।

जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

उनका अनुसार भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्वजात्रा उल्लेख गरिएको छ । यस्तै, भक्तपुरको दरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख छ ।

हाल पनि तलेजुमा बिस्का जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । श्रेष्ठका अनुसार यी प्रमाणका आधारमा विश्वकेतु संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट हुन पुगेको हो ।

श्रेष्ठका अनुसार यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उनी बताउँछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]