आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले हिजो शनिवारदेखि आमरण अनशन शुरू गरेका छन् । बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारले शनिवार मध्य लन्डनमा र्यारली तथा प्रधानमन्त्रीको कार्यालयनजिकै अनशन बसिरहेका छन् । सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् ।तर ब्रिटिश सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ। सन् १९९७ भन्दा पहिला भर्ती भएका ब्रिटिश सैनिकहरूले २२ वर्ष सेवा गरेपछि मात्रै पेन्सन पाउने तर गोर्खा सैनिकहरूले १५ वर्षपछि पेन्सन पाउने र उनीहरू नेपालमै सेवानिवृत्त हुने हुनाले उनीहरूलाई दिएको पेन्सनमा भेदभाव भएको भन्न नमिल्ने ब्रिटिश अधिकारीहरूको तर्क छ।सन् २००९ मा ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा चार वर्ष सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूलाई आवासीय सुविधा दिने घोषणा गरेको थियो। त्यसयता दशौँ हजार भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनमा बसोबास गरिरहेका छन्। गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिमा आबद्ध अभियानकर्मीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घलेले आमरण अनशन शुरू गरेका हुन्। शनिवार दिउँसोदेखि तीनजना आमरण अनशनमा बसेको र माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।