माल्दिभ्स र श्रीलङ्कालाई हराएपछि नेपाल फाइनलमा पुग्ने बलियो सम्भावना
दुई दशकको अवधिमा १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको फाइनलसम्म पुग्न नसकेको नेपालले यसपालि भने बलियो शुरूआत गरेको छ । माल्दिभ्सको मालेमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो दिन बलियो ठानिएको आयोजक माल्दिभ्सलाई १/० ले हराउँदै नेपालले प्रतियोगितामा प्रभावशाली शुरूआत गरेको थियो । सोमवार राति तनावपूर्ण देखिएको अर्को खेलमा श्रीलङ्कालाई ३/२ ले पराजित गरेपछि नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने प्रतियोगितामा दाबेदारी समेत गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दुई खेलपछि नेपालको ६ अङ्क छ । नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरे पनि फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि विहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल विहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ । हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न नसकेको नेपाललाई यसपटक इतिहास रच्ने सुवर्ण अवसर छ ।