मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर ( आईपीओ ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकहरुबाट २ करोड ८४ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको भनाई छ ।
यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।
कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उक्त आइपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।