मोरङ्ग क्षेत्र नं. ६ क्षेत्रबाट उम्मेदवारी दिने रमेशजंगको दाबी यस अघि शेखर कोईराला थिए उमेद्वार
युवापोष्ट २३ जेठ, विराटनगर । नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गरेका छन् । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुन् ।
यस अघिको संसदीय निर्वाचनमा उमेद्वार रहेका डा. शेखर कोइरालालाई चुनौती दिँदै क्षेत्र नं. ६ बाट उमेद्वार बन्ने रमेशजंग रायमाझीले बताएका हुन् । उनी उमेद्वार बन्ने चर्चा स्थानीय निर्वाचन सकिएसँगै शुरु भएको हो । जनता र कार्यकर्ताको चाहाना अनुरुप आँफु उमेद्वार बन्न लागेको उनले बताए ।
यस अघि २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा डा. शेखर कोइराला उम्मेदवार बनेका थिए । त्यतिबेला प्रदेश सभाका दुवैक्षेत्रमा नेपाली कांग्रेस बिजयी भएपनि संसदीय क्षेत्रमा उनी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए ।
डा. शेखर क्षेत्र नम्बर ६ छाडेर क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुपर्ने रायमाझी बताउँछन् । क्षेत्र नम्बर ६ मा पार्टीको उपस्थिति कमजोर भएको बताउँदै उनले पार्टीलाई विजयी गराउन आफूले उम्मेदवारी दाबी गरेको बताए ।
‘उहाँ कोइराला परिवारको मान्छे, मोरङ क्षेत्र नम्बर २ गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो,’ उनले भने, ‘कोईरालाको लिगेसीले पनि क्षेत्र नम्बर २ मा उहाँलाई सजिलो हुन्छ ।’
मोरङ क्षेत्र नम्बर २ बाट ०७४ सालमा नेता डा. मिनेन्द्र रिजाल निर्वाचित भएका थिए । डा. शेखर क्षेत्र नम्बर २ मा जाँदा मिनेन्द्रले छोड्ने रायमाझीको तर्क छ । ‘शेरबहादुर देउवाले यहाँबाट उठ्छु भन्दा मैले छोड्नुपर्छ’, उनले भने, ‘मिनेन्द्र रिजालको नेता डा. शेखर हो, महाधिवेशनमा शेखरको प्यानलबाट महामन्त्री उठ्नुभएको थियो, उहाँ (शेखर)ले उठ्ने हुँदा मिनेन्द्रले छोड्नुपर्छ ।’
डा. शेखरले उमेरका कारणले पनि राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने बताउँदै भन्दै रायमाझीले अब यो क्षेत्रबाट आफू उम्मेदवार हुने बताएका हुन् ।
मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गुरुराज घिमिरेले प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका छन् । सो क्षेत्रबाट यसअघि नेता महेश आचार्य उम्मेदवार बनेका थिए । ०७४ को चुनावमा उनी माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित भएका थिए ।