म्यान्मारमा एउटा अदालतले पदच्युत नेत्री आङ सान सुकीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। यसअघि सुकीलाई गत डिसेम्बरमा पनि एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो । सन् २०२० को नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको नेसनल लीग फोर डिमोक्रेसी (एनएलडी) ले बहुमत पाएको केही महिनापछि सेनाले निर्वाचित सरकारलाई सत्ताच्युत गर्दै शासन आफ्नो हातमा लिएको थियो ।गत फेब्रुअरी महिनामा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई हिरासतमा राखिएको थियो । उनीविरुद्ध झन्डै एक दर्जनवटा अभियोग लगाइएको थियो ।
अदालतले सुकीले अवैध रूपमा वाकी-टकी राखेको र आयात गरेको एवं कोभिड-१९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एउटामा फैसला गरेको हो। अहिलेको निर्णयपछि सुकीले पाउने जेल सजायको कुल अवधि छ वर्ष पुगेको छ। मानवाधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचले सुकीविरुद्ध चलाइएको मुद्दालाई ”मिथ्या आरोपमा अदालती चटकको गोप्य कारबाही” को सङ्ज्ञा दिँदै सुकीलाई जेलमा राखिराख्न खोजिएको दाबी गरेको छ।