08:49:16 am 03-Jul-2022

योगको परीचय सन्दर्भ अन्तराष्ट्रिय योग दिवस


योगको परीचय सन्दर्भ अन्तराष्ट्रिय योग दिवस

युवापोष्ट ७ असार, काठमाण्डौ । योगको अर्थ जोड्नु हो । यसले मानिसको चेतना र शरीर विचको सम्बन्धलाई जोड्ने काम गर्दछ । यो एक विशेष क्रिया हो । मन र मस्तिष्कको सम्बन्धलाई सुमधुर बनाउने क्रिया नै योग हो । यसबाट मानसिक शान्तिका साथै रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि हुन्छ ।

योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात चित्त र वृत्तिको निरोध नै योग हो ।  बास्तबमा मानिसको अस्थिर मनलाई स्थिर र शान्त बनाउनु  नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति  र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । रोगीका लागि योग चिकित्सा पद्धति हो उपचार हो निदान हो रोग नासक हो  भने निरोगीका लागि जीवन पद्दति हो जीवन शैली हो दिन चर्या हो  । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो  । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुको आधुनिक जीवनशैली र प्रकृतिसँगको निकटताको अभाव र एक्लै रमाउने प्रबृत्ती, दैनिक रुपमा हुने तनाव आदिले शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ । यसलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।

हजारौं वर्ष पहिले योग गुरु पतञ्जलीले योगलाई ब्यवस्थित रुपमा संकलन गरि राख्नु भएको थियो । त्यसकारण उहाँलाई योगका पहिलो गुरु मानिन्छ । तर यो मानिसको जीवनमा पहिले देखि नै रहिआएको थियो । उहाँले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र  रहेका छन् ।

पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।

योगसूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत्  पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने  गरिन्छ ।

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१५ वाट मनाउन शुरुगरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवस यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । स्वस्थ्य जीवनशैली व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।

आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । यसले मानिसलाई रोग लाग्नै नदिने तर्फ आफ्नो विचार अगाडि बढाउँछ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग एकमात्र सरल र सहज उपाय हो । समयको पावन्दी भन्दा पर सम्म योगले चित्त पूर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौं । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ । भगवान गौतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु प्रशस्त पुस्तक र उदाहरणहरुले बयान गरेका छन् ।

विश्वले बिगुल फुकेको छ, विकास र सभ्यताको उचाई थपिएको छ भन्ने । फर्केर हेर्दा विश्व अहिलेभन्दा पहिलेनै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडी फर्किरहेको छ, यसका प्रमाणहरु मध्य एउटा ज्वलन्त प्रमाण हो योग अभ्यास । सोलुखुम्बु देखि न्युयोर्क सम्म, कोरीयादेखि खोरिया सम्म विहान-विहान घर अगाडि सुकुल विछ्याएर योग अभ्यास गर्ने मान्छेहरुको उपस्थिती देखिन्छ । एकहिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसंग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्दछ, हैन र ?

योगको विभिन्न परिभाषाहरु

(१) पातञ्जल योग दर्शन को अनुसार –चित्त वृत्तिको निरोध नै योग हो।
(२) सांख्य दर्शनका अनुसार – व्यक्ति र प्रकृतिको प्रकृति स्थापना गरेर व्यक्तिको आत्ममा स्थित हुनु नै योग हो ।

(३) विष्णु पुराणका अनुसार – जीवात्मा तथा परमात्मा का पूर्णतया मिलन नै योग हो।
(४) भगवत गीताका अनुसार – दुःख-सुख, लाभ-हानी, शत्रु-मित्र, शीत तथा उष्ण आदि द्वन्दमा सर्वत्र समभाव राख्ने योग हो ।

(५) भगवत गीताका अनुसार -कर्त्तव्य कर्म बन्धक होइन, त्यसैले निष्काम भावनाले अनुप्रेरित भएर कर्त्तव्य गर्ने कौशल योग हो ।

(६) आचार्य हरिभद्रका अनुसार – मोक्षसँग जोड़ने खालका सबै व्यवहार योग हुन ।
(७) बौद्ध धर्मका अनुसार – कुशल चित्त को एकाग्रता योग हो ।

८)   बी.के.एस. अयंगारका अनुसार  –“योग एक ज्योति हो, जुन एकपल्ट जलेपछि कहिल्यै निभदैन्।  बरु जति राम्रो अभ्यास गर्नुहुनेछ, आगोको ज्वाला त्यतिनै उज्यालो हुँदै जान्छ ।”
९) अमित रेका अनुसार –“योग कुनै धर्म होइन । यो एक विज्ञान, कल्याणको वैज्ञानिक, युवापनको विज्ञान, एक शरीर, शरीर र दिमाग र आत्मालाई एकीकृत गर्ने विज्ञान हो। ”
१०) जेसन क्रान्डेलका अनुसार–  “योग तपाईं को हुन् भन्ने बारेमा जिज्ञासु हुने उत्तम अवसर हो।”
११) सिन्डी लीका अनुसार –“तपाईको शरीर सम्भवतः योग गरेर धेरै नै लचिलो हुन्छ, र तपाईको दिमाग पनि ।

१२) सदगुरुको अनुसार -“योग सधैं शरीर परिवर्तन गर्न कोशिस गर्दछ किनकि यदि शरीर परिवर्तन भयो भने, दिमाग आफै परिपक्व हुन्छ।”

१३) श्री श्री राव शंकरका अनुसार– “योग जीवनको प्राकृतिक लय हो जसले तपाईंलाई आफु र अरुको नजीक ल्याउँछ ।”

माथि चर्चा गरे अनुसार छोटकरीमा योग किन आवश्यक?

१)  योगको अभ्यासले शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
२)योगले भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
३)  योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लै गर्न कुनै कठिनाइ हुँदैन ।
४) योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
५) योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

६) योगले शरीरमा रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्छ ।

७) मुटु र रगतका नलिलाई सफा गर्ने काम गर्छ ।

८) योगमा शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हुन्छ ।
९) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ ।

१०)  योगले शरीरमा बढी भएको क्यालोरी कम गर्छ ।
११) योगले `रिढ’को लचकता बढाएर यौवन, युवापन र शरीरमा स्फुर्ती ल्याउछ ।
१२) योगले जोर्नीहरुलाई खुकुलो बनाउँछ ।
१३) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ ।
१४) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने हुदा अक्सिजन लिने क्षमता बढाउँछ ।
१५) योगले खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी दिन्छ र फाइदा पुग्छ ।

१६) योगा अभ्यासले पाचन प्रणालीका अङ्गलाई मजबुत बनाउँछ । यसको कुनै साइड इफेक्ट केही छैन् ।

१७) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।

१८) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।

१९) योगले मस्तिष्कलाई सफा बनाउँछ।मन स्वस्थ राखी सकारात्मक बनाउन मद्दत गर्छ।
२०) योग शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]