06:11:11 pm 20-Oct-2021

मन्त्रिपरिषद् बैठकले गर्यो राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलाउने निर्णय


मन्त्रिपरिषद् बैठकले गर्यो राजनीतिक नियुक्तिका राजदूत फिर्ता बोलाउने निर्णय

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका आधारमा बनाइएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका एक प्रवक्ताले जानकारी दिएका छन् । राजदूतहरूलाई एकमुस्ट रूपमा फिर्ता बोलाउने सरकारी निर्णयले अन्तर्राष्ट्रियस्तरमै नेपालको परराष्ट्र नीतिप्रति विश्वसनीयता घट्न सक्ने कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन्। मङ्गलवारको सरकारी निर्णयका कारण नेपालका छिमेकी मुलुकहरू भारत तथा चीनका साथै अमेरिका र यूकेजस्ता राष्ट्रमा पठाइएका नेपाली राजदूतहरू पनि फिर्ता हुनुपर्ने अवस्था आएको बताइएको छ। अहिले भारतका लागि नीलाम्बर आचार्य र चीनका लागि महेन्द्र पाण्डे राजदूत छन्। गत वर्ष चीनका लागि नेपाली राजदूत बनेका पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् भने संविधानसभाबाट संविधान बनाउने क्रममा बनाइएको संवैधानिक समितिका सभापति एवम् नेपाल भारत प्रबुद्ध व्यक्तिहरूको समूह का सदस्यसमेत रहेका आचार्य २०७५ सालमा भारतका लागि राजदूत नियुक्त भएका थिए ।सरकारी निर्णयका कारण अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा र यूकेका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी पनि फिर्ता हुने बताइएको छ। खतिवडा पूर्वअर्थमन्त्री हुन् भने रेग्मी पूर्वमुख्यसचिव हुन्। त्यस्तै जापान, कतार, इजरेल, ओमन, स्पेन, मलेशिया, बाङ्लादेश लगायतका राजदूतहरू पनि फिर्ता हुनुपर्नेछ। जापानमा प्रधानमन्त्री देउवाकी सासू प्रतिभा राणा राजदूतका रूपमा रहेकी छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक निश्चलनाथ पाण्डेका अनुसार अवकासप्राप्त व्यक्तिहरूलाई राजदूत बनाउने चलन नै राष्ट्रका लागि अहितकर भइसकेको र आजको आवश्यकता भनेको राष्ट्रको हितमा दत्तचित्त भएर लाग्न सक्ने र भविष्यलाई प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्नु हो। नियुक्तिदेखि नै विवाद हुने भएकाले नेपालमा यस्ताखाले समस्या बल्झिरहेको उनको भनाइ छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]