राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी कतारतर्फ प्रस्थान
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी आज सोमबार कतारतर्फ प्रस्थान गरेका छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल सकिए लगत्तै अलमुताइरी कतार लागेका हुन् । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो भने बिहीबारको पहिलो खेल १–१ को बराबरी खेलेको थियो ।नेपाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएकोले त्यसको लागि अलमुताइरी अगाडि नै त्यसतर्फ गएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । २४ सदस्यीय खेलाडीसहित राष्ट्रिय टोली शुक्रबार कतार प्रस्थान गर्नेछ । त्यहाँ दुई साता भन्दा लामो अभ्यासपछि टोली असोज ११ गते कतारबाट माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।