रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्नसक्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी
युवा पोस्ट,माघ १४,२०७८,शुक्रबार,
युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। यस्तो परिस्थिती र त्रासको बीच अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको चेतावनी दिएका छन्। रुसले त्यस्तो आक्रमणको योजना बारे अस्वीकार गर्दै आएको छ। तर अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भलादमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन्।
राष्ट्रपति बाइडेनले ”रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्”, ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त पारेको जनाइएको छ।